Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Friday, January 19, 2018

फररर अंग्रेजी की दरिलो सिकाई

                              

केहि दिन अगाडी कुनै नगरपालिकाको दोश्रो परिषद्ले त्यस क्षेत्रका सबै सामुदायिक विद्यालयको सिकाइ सुधार अभिप्रायले सबै त्यी विद्यालयहरुमा अग्रेजी माध्यमबाट शिक्षण सिकाइ संचालन गर्ने निर्णय गरेको थियो । यो निर्णय प्रक्रियासंगै सामुदायिक विद्यालयको सुधारको नयाँ बहसको सिर्जना गरेको छ । शिक्षा क्षेत्रमा उब्जाएको यो बहस भने नँया होइन । धेरै विद्यालयहरुले सामुदायिक विद्यालय सुधारको लागि यो रणनीति अपनाइसकेको पाइन्छ । शिक्षा क्षेत्रमा यो रणनीतिलाई एक समुहले सकारात्मक रुपमा लिएकाछन् भने अर्कोको समुहले यसबाट पार्ने नकारात्मक प्रभाबको विषयमा बहस गरेको पाइन्छ । यस सन्दर्भमा, के वास्तविक सामुदायिक विद्यालयका कक्षाहरु सुनसान बन्नबाट रोक्न अँग्रेजी माध्यम नै उपयुक्त हो त ? के अँग्रेजी माध्यमले विद्यालयको सिकाइ गुणस्तर सुनिश्चित गर्दछ त ? के अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्न हाम्रो विद्यालय सक्षम छन् त ? कतै हामी वास्तविकताहिन र दुगार्मी अषर पार्ने कुरामा बहकीरहेका त छौनौं ? के हामीलाई अँग्रेजी फरर बोल्ने चाहिएको हो की उसमा सिक्नुपर्ने सिकाइ सक्षमता सुनिश्चित भइ सीपयुक्त नागरिक चाहिएको हो ? भन्ने जस्ता कयौं प्रश्नहरुको उत्तर रोज्नु आजको नितान्त आवश्यकता बनिसकेको छ ।

केहि परिवेशहरु 

केहि समयअधि अँग्रेजी माध्यमबाट प्राथामिक शिक्षा सञ्चालन गरेका केहि विद्यालयहरुको अवलोकन गर्ने अवसर प्राप्त भएको थियो । उक्त अवसरमा देखिएका केहि परिदृश्यहरु यहां प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । अवलोकनको क्रममा कुनै विद्यालयको कक्षा १ मा गणित विषयको शिक्षण भइरहेको थियो । अँग्रेजी माध्यमबाट शिक्षण भइरहेको भनिएको त्यस विद्यालयका बालबालिकाहरु तथा शिक्षकको हातमा अँग्रेजी माध्यमको पाठ्यपुस्तक थियो । तर करिब २० मिनेट अवलोकन गरिएको त्यस कक्षामा करिब १० प्रतिशत मात्र अँग्रेजी भाषाको प्रयोग भएको थियो भने ९० प्रतिशत नेपाली नै थियो । त्यसमा पनि निर्देशन र सहजीकरण भने नेपालीमा गरिएको थियो । केबल खाली सेतो पाटीमा अंग्रेजीबाट गणितिय सीप केन्द्रित क्रियाकलापहरु उल्लेख गरिएका थिए । त्यसैगरी केहि समय पछाडी अर्को विद्यालयको कक्षा २ मा सामाजिक विषयको शिक्षण हुदै थियो । त्यसमा पनि ९५ प्रतिशत जति नेपाली भाषा कै माध्यमबाट शिक्षण सहजीकरण हुदै थियो भने पाठ्यपुस्तक अँग्रेजी माध्यमकै थिए । त्यस विद्यालयमा पनि अँग्रेजी माध्यमबाट नै शिक्षा दिने व्यवस्था गरिएको थियो भन्ने सुचना प्राप्त भयो । 

त्यसैगरी, अर्को समयमा अर्को विद्यालयको कक्षा ३ मा अँग्रेजी विषयको शिक्षण भइरहेको थियो । जहां ९० प्रतिशत जति नेपाली भाषाको प्रयोग भइरहेको थियो । शिक्षकले खाली केबल पाठ्यपुस्तकका उल्लेख गरिएका विषयवस्तुमात्र अंग्रेजीमा उच्चाहरण गर्ने गरेका थिए । उनले बुझाउन तथा निर्देशन दिन नेपाली भाषा कै प्रयोग गरेको थिए । यी सबैको सार भनेको अँग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरे भनिएता पनि शिक्षणसिकाइको माध्यम भने नेपाली नै थियो भन्दा फरक नपार्ला । त्यी विद्यालयमा शिक्षण गर्ने शिक्षकसंगको छलफलबाट के निष्र्कष प्राप्त भएको थियो भने अँग्रेजी माध्यमबाट मात्र शिक्षण गर्दा विद्यार्थीले नबुझ्ने भएकाले नेपाली भाषाको हावी भएको । त्यसैगरी त्यी विद्यालयहरुका बालबालिकाहरुलाई सामुहिक प्रश्न—गणित, सामाजिक जस्ता विषय नेपाली की अँग्रेजीमा पढाउदा तिमीहरु बुझ्छौं ?गर्दा अधिकांशले नेपाली भने । त्यसैगरी, त्यी विद्यालयका प्रअसंगको छलफलमा केहि प्रअले नेपाली भाषाबाट शिक्षण गर्दा भन्दा अंग्रेजी भाषाबाट शिक्षण गर्दा बालबालिकाहरुको सिकाइ उपलब्धी घटेको गुनासो व्यक्त गरे भने केहि प्रअले अंग्रेजी माध्यमबाट शिक्षणसिकाइ प्रक्रिया सञ्चालन गर्ने विद्यालयको प्रणाली सक्षम नभएको कुरालाई अंकित गरे । त्यसैगरी केहि प्रअले अंग्रेजीमा त तुलनात्मक राम्रो भयो त अरु विषयमा खासै परिवर्तन आउन सकेन । अभिभाबहरुको भने अपेक्षा अंग्रेजी माध्यम नै शिक्षण सिकाइ सञ्चालन गर्नुपर्ने तर्क थियो ।  यी त केबल केहि विद्यालयका उदाहरण मात्रै हुन् । यस्तो परिदृश्य अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्ने धेरै विद्यालयमा रहेको छ । यी सबै परिदृश्यबाट के स्पस्ट हुन्छ भने अंग्रेजी माध्यमको रणनीति आँफैमा सामुदायिक विद्यालयको समस्या समाधानको टब्लेट होइन् । यसले सामुदायिक विद्यालयमा देखिएका समस्यालाई समाधान गर्न सक्दैन । 

अंग्रेजी के सिकाइ के ? 

अहिले समाजका हरेक मानिसको एउटै अपेक्षा हुन्छ । आफ्नो छोराछोरी अंग्रेजीमा राम्रो दखल भएकोहोस् । अंग्रेजीमा राम्रो बोल्ने मान्छे त्यो नै जान्ने वा राम्रो मान्छे भन्ने धारणाले समाजमा व्यापकता पाउदै गएको छ । सिकाइलाई भन्दा अंग्रेजीलाई प्राथामिकता दिने प्रवृति हावी हुदै गएको छ । के हामीले शिक्षा लिनुको अर्थ अंग्रेजी फरर बोल्न जान्ने बनाउनु हो । हाम्रो विद्यालय शिक्षाको यति ठूलो लगानीको उदेश्य अंग्रेजीमा फरर बोल्न सक्ने र कक्षा उत्तिर्ण गराउने हो की उनीहरुमा तोकिएका सिकाइ सक्षमताको सुनिश्चित गदै सक्षम तहगत नागरिक तयार गर्नु हो ? यस विषयमा आमनागरिकहरु सचेत हुनु आजको अपरिहार्य बनेको छ । शिक्षा लिनुको उदेश्य भनेको अंग्रेजीमा फरर बोल्न सक्ने बनाउनु होइन । अंग्रेजी त केवल भाषाको माध्यम मात्र हो, जुन व्यक्तिहरुले हासिल गरेका सिकाइ सक्षमताहरुलाई बाहिर प्रस्फुटित गर्ने एउटा सशक्त साधन मात्र हो । सिकाइ सक्षता शिक्षा आर्जनको मुल मर्म हो जसले व्यक्तिको व्यवहार, ज्ञान, सीप तथा प्रवृतिमा परिवर्तन ल्याउदछ । 
त्यसैले, अंग्रेजी साध्य होइन, यो सहायक वा पुरक मात्र हो भने सिकाइ सक्षमता प्रमुख हो । यो कुरालाई आम अभिभाबकसंग पुर्याउन नसक्नु आजको विडम्बना हो । त्यसकारण सामुदायिक विद्यालयको पहिलो समस्या भनेको बालबालिकाहरुमा तहगत सिकाइ सक्षमता सुनिश्चित गर्न नसक्नु हो र नीजि विद्यालय तर्फको अंग्रेजी मोहलाई आफुतिर आर्कर्षित गदै विद्यार्थी संख्या बढाउनु नै हो । अंग्रेजी माध्यमबाट शिक्षणसिकाइ गदैमा विद्यार्थी बढ्ने र सिकाइ सुनिश्चित हुन्छ भन्ने कुनै गतिलो आधार देखिदैन । बरु तहगत सिकाइ सक्षमता सुनिश्चित गदै नीजि विद्यालयको मोह घटाउन सकिन्छ । त्यसैले त्यसको लागि सिकाइ सुधार रणनीति केन्द्रित क्रियाकलाप सञ्चालन गर्नु पर्दछ । यसबाट के स्पस्ट हुनुपर्दछ भने बालबालिकाहरुमा सिकाइ सक्षमता सुनिश्चित गर्ने तिर प्राथामिकता साथ पहिलो सबैको ध्यान केन्द्रित हुनुपर्दछ भने त्यसलाई अन्र्तराष्ट्रिय बजार सम्म बजारयोग्य बनाउन अंग्रेजीलाई पुरक रुपमा लिनुपर्दछ । 

नीतिगत व्यवस्था के छ ? 

नेपालको सन्दर्भमा सामान्यतया विद्यालय तहका बालबालिकाहरुको दृष्ट्रिले अंग्रेजी दोश्रो, तेश्रो भाषाको रुपमा पर्दछ भने नेपाली पहिलो, दोश्रो । सत्य के हो भने अंग्रेजी भन्दा नेपाली  भाषा नै बढी प्रयोग हुने वातावरणको सिर्जना नेपालमा छ । अर्थात् बहुसंख्यक विद्यालय तहका बालबालिकाहरुले घरमा अंग्रेजीभन्दा नेपाली भाषा कै प्रयोग गर्दछन् । कुनै जातिगत समुहका बालबालिकाहरु आजभोली त्यस जातिको आफ्नो मातृभाषा भन्दा नेपाली नै बोल्ने प्रवृति बढ्दै गएको छ । नेपालको संविधान २०७२ को धारा ३१ मा आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने कुरा उल्लेख गरेको छ । त्यसैगरी शिक्षा ऐनको नवौं संशोधनले विद्यालय तहको शिक्षाको माध्यम नेपाली भाष, अंग्रेजी  वा दुवै हुनसक्ने कुरा उल्लेख गरेको छ । त्यसमा पनि प्राथामिक शिक्षा स्पस्ट रुपमा मातृभाषामा दिन सकिने भन्ने कुरा उल्लेख गरेको छ । त्यसैगरी, भाषा विषयमा अध्ययपन गर्दा शिक्षाको माध्यम सोही भाषामा नै हुनुपर्ने र अंग्रेजी विषयको शिक्षण गर्दा अंग्रेजी भाषा नै हुनुपर्ने व्यवस्था गरेको छ । नीतिगत रुपमा पनि प्राथामिक तहमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्न उपयुक्त देखिदैन । 

शिक्षणको माध्यम कुन उपयुक्त ?

विभिन्न नीतिगत तथा अनुसन्धानात्मक प्रतिवेदनहरुले प्राथामिक तहमा शिक्षाको माध्यम मातृभाषामा नै हुनुपर्दछ भन्ने कुरा उल्लेख गरेकोछन् । यसको अर्थ भनेको आफ्नो मातृभाषा वा घरमा बढी बोलिने भाषामा शिक्षण गर्ने हो भने बालबालिकाहरुले बढि बुझ्ने र सिकाइ प्रभावकारी हुन्छ वा सिकाइ सक्षमतामा सहज आउछ नै भन्ने हो । नेपालको परिवेशमा मातृभाषा वा नेपाली भाषा नै प्राथामिक तहको शिक्षाको माध्यम सान्दर्भिक देखिन्छ तर अंग्रेजी होइन । यदि यस तहमा अंग्रेजी माध्यमबाट शिक्षण गर्ने हो भने नेपाली वा मातृभाषाको तुलनामा बालबालिकाहरुको बुझ्ने दरमा वृद्धि हुन नसक्ने र त्यसले सिकाइ सुनिश्चितमा अवरोध खडा गर्दछ भन्ने मान्यता नै हो । 

अंग्रेजीको मोहलाई कसरी व्यवस्थापन ? 

सिकाइ सक्षमता सहित अंग्रेजी भाषामा राम्रो दखल भएको व्यक्ति राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा बढी विकाउयोग्य हुने कुरामा कुनै दुई मत छैन । सिकाइ सक्षमता विहिनको अंग्रेजी भाषाको दखल नागरिक र अंग्रेजी भाषाको दखलविहनिको सिकाइ सक्षमता भएको नागरिक पनि आजको विश्वव्यापीकरणको युगमा टिक्न निक्कै कठिन छ । त्यसैले, सामुदायिक विद्यालयले सिकाइ सक्षमता सहितको अंग्रेजी भाषामा दखल भएको नागरिक उत्पादनमा लाग्नु पर्ने भएकाले स्थानिय आवश्यकता अनुरुप स्थानिय विषयका रुपमा वा कुनै योजना निर्माण गरी अंग्रेजी भाषालाई जोड दिन सकिन्छ । साथै, हालकै अनिवार्य विषयमा रहेको अंग्रेजी विषयको शिक्षणलाई थप प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भन्ने भाषविज्ञको बुझाइ रहेको छ । तर विश्व बजारमा अंग्रेजीको मागकै कारणले प्रारम्भिक कक्षाहरुमा अंग्रेजी माध्यमले शिक्षण सिकाइ सञ्चालन गर्नाले शिक्षा क्षेत्र झन तहसनहस हुने कुरामा सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्दछ ।

अंग्रेजीले समस्या समाधान होला त ? 

सामुदायिक विद्यालयका समस्याहरु समाधानका लागि नै कतिपय विद्यालयहरुले अंग्रेजी माध्यमबाट शिक्षणसिकाइ सञ्चालन गर्ने गरेको पाइन्छ । के अंग्रेजी माध्यमले विद्यालयका समस्या समाधान होला त ? भन्ने प्रश्न शिक्षा क्षेत्रको बहसको विषय भएकाले गर्दा विद्यालय तहका समस्याको मुल जरो खोताल्नु सान्दर्भिक देखिन्छ । विद्यालयको मुल समस्या भनेको कक्षाकोठाका बालबालिकाहरुमा सिकाइ सुनिश्चित गर्न नसक्नु हो । सामुदायिक विद्यालयका कक्षाकोठाहरु सुनुुसान बन्दै जाने प्रवृति ज्यामितीय अनुपातमा बढेको देखिन्छ । त्यसको पछाडीको कारण भनेको सामुदायिक विद्यालयले सिकाइ सक्षमता सुनिश्चित गरी नीजि विद्यालयको मोहलाई कम गर्ने नसक्नु पहिलो कारण हो । त्यसको संगै वैदेशिक रोजगारमा जानेको संख्या बढ्नु र त्यसले छोराछोरी नीजि विद्यालयमा भर्ना गर्ने प्रवृति बढ्नु, जन्मदरमा कमी आउनु, बसाइसराइंको प्रवृति पहाड, हिमालबाट तराईतिर जानु, नेपालीमा आम्दानीको स्रोत बढ्दै जानु लगायत कारणहरु हावी रहेकाछन् । यी सबैको सार भनेको अंग्रेजी दरिलो सिकाइको अपेक्षा नै समुदायको हो । 

दरिलो सिकाइ कसरी सुनिश्चित गर्ने ? 

अहिले सामुदायिक विद्यालयमा चाहिएको ठूल्ठुला कुराहरु भन्दा पनि तोकिए कै पाठ्यक्रमकेन्द्रित सिकाइ सक्षमता कसरी सुनिश्चित गर्ने भएकाले गर्दा विद्यालयले आफ्नो परिवेश अनुरुप सिकाइ सक्षमता सुधारको उपाय केन्द्रित गतिविधि सञ्चालन गर्नुपर्दछ । त्यसको लागि सर्वप्रथम, प्रअबाट उच्च प्रशासनिक तथा व्यवस्थापकिय सीप प्रर्दशन गर्नुपर्दछ । विद्यालयको प्रअले तोकिए बमोजिम त्यस्तो नेतृत्वदायी भुमिका निर्वाह गरेको छ की छैन भनेर विव्यस, स्रोतकेन्द्र तथा स्थानियतहबाट नियमित अनुगमन तथा सहजीकरण गरिनुपर्छ । यसको सार भनेको विद्यालयको मुख्य जिम्मेवारी व्यक्तिले नै सुधारको थालनी गर्नु पर्दछ भन्ने हो । त्यस पश्चात, कक्षागत विद्यार्थीसंगको छलफल, अति विपन्न वर्गका बालबालिकाहरुको लागि छात्रवृति सहयोग प्रदान, अभिभाबकसंगको नियमित छलफल अन्तरक्रिया मार्फत विद्यार्थीको उपस्थितिमा वृद्धि गर्नु पर्दछ । तेश्रो चरणमा, शिक्षबाट तोकिएको पुरा समय शिक्षण सहजीकरण गर्नुपर्दछ । त्यसमा पनि पाठ्यपुस्तकको सट्टा पाठ्यक्रममा आधारित सिकाइ सक्षमताको आधारमा सहजीकरण गर्ने परिपार्टीले व्यापकता ल्याउनुपर्दछ । हालको अबस्था भनेको पुरा समय कक्षामा सहजकिरण नहुनु हो भने शिक्षकको दायित्व भनेको पाठ्यपुस्तकमा भएका सुचनामात्र विद्यार्थी माझ हस्तान्तरण गर्नु भन्ने हो भन्ने परिपार्टी हावी रहेको छ । त्यसमा पनि सिकाइ भन्दा विषयवस्तु केन्द्रित शिक्षण गर्ने प्रवृति रहेको छ । 

त्यसपछि, विद्यार्थीको सिकाइ तहको परीक्षण र स्तर निर्धारण गर्नु पर्दछ । अर्थात, कम्तिमा प्रत्येक विषय शिक्षकले आफ्नो विषयमा मासिक रुपमा आफ्नो परियड भित्र आफ्ना बालबालिकाहरुको निर्माणात्मक मुल्यांकन गर्नुपर्दछ । यसबाट तोकिएका सिकाइ सक्षमताको आधारमा विद्यार्थीहरुको अबस्था पत्ता लगाउन सकिन्छ । तर हाल हुदै आएका तीन प्रकारका परीक्षाले त्यस्तो काम नगरेको पाइन्छ । त्यसमा पनि त्यी परीक्षामा प्राप्त गरेका अंकको विश्लेषण गर्ने प्रवृति छैन खाली केवल त्यी अंकहरु रकर्ड पुस्तिकामा मात्र चडाउनको लागि प्रयोग गरिन्छ । अर्थात पास÷फेलको लागि रेकर्ड राख्ने काम बाहेक त्यसको विश्लेषण गरी योजनाबद्ध रुपमा शिक्षणसिकाइ अगाडी बढाएको पाइदैन । स्तर निर्धारण पश्चात पुनशिक्षण वा उपचारात्मक शिक्षणको व्यवस्था विद्यालयले सम्बन्धित निकायहरु संग समन्वयगरी सञ्चालन गर्नुपर्दछ । यी कुराको सुनिश्चितको लागि विद्यालयमा विषयगत समितिको निर्माणगरी त्यसलाई परिचालन गर्नुपर्दछ । मासिक रुपमा विव्यस, शिअसं, स्टाफ समीक्षात्मक वैठक, चौमासिकरुपमा विद्यालय अभिभाबकबीचको छलफल अन्तरक्रिया सञ्चालन, चौमासिक रुपमा स्थानिय तहमा समिक्षा वैठक सञ्चालन गर्ने गर्नुपर्दछ । निश्चित सुचककेन्द्रित समीक्षा वैठकको ढांचा अनुरुप सञ्चालन हुने यस्ता वैठकले सिकाइ सुनिश्चिततामा सहयोग गर्दछन् । त्यसैगरी सम्बन्धित निकायले पनि तोकिए कै निश्चित ढांचामा नै अनुगमन तथा प्राविधिक सहयोग प्रदान पुर्याउने हो भने एउटा सीपयुक्त सिकाइ सक्षमता भएको नागरिक उत्पादन गदै देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने कुरामा कुनै दुइ मत नहोला । त्यसैले पन अंग्रेजी माध्यम होइन सिकाइ सक्षमता सुनिश्चितमा विद्यालय क्रियाशिल हुनु आवश्यक छ । 
  
निष्र्कष 

विना वास्तविकता र बुझाइ विना अंग्रेजीप्रतिको मोह बमोजिम विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षणसिकाइ गर्ने निर्णय तथा परिपाटी गलत हो । अंग्रेजी आंफैमा पुर्ण होइन र त्यसले विद्यालयका समस्याहरु पनि समाधान गर्ने होइन । यो त केवल सिकाइ सक्षमताका गुणहरुलाई अन्र्तराष्ट्रिय बजारसम्म पुर्याउने माध्यम मात्र हो । अहिले हाम्रो समुदायको माग आवश्यकता भनेको फरर अंग्रेजी होइन सिकाइ सक्षमता सुनिश्चित गर्नु हो । प्रारम्भिक तहहरुमा अंग्रेजी माध्यमबाट शिक्षणसिकाइ सञ्चालन गर्दा बालबालिकाहरुको बुझ्ने क्षमतामा ह्रास आउने हुंदै सिकाइ सक्षमता झ्न कमजोर हुने कुरा पक्का छ । र त्यसले भविष्यमा सामुदायिक विद्यालयलाई झ्न निरासाजनक अबस्थामा नपुराउला भन्न सकिन्न । त्यसैले नै सम्बन्धित निकायले समयमै नै सचेत रहदैं सामुदायिक विद्यालयमा दरिलो सिकाइ सुनिश्चित गर्न क्रियाशिल हुनुको विकल्प छैन । 

http://www.edukhabar.com/news/11175 



No comments:

Post a Comment