हालै सार्वजनिक भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइको अवस्था चिन्ताजनक रहेको देखाएका छन् । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूमा पढाइ र गणितीय सीप कमजोर रहेको तथ्य बारम्बार सार्वजनिक भइरहेको छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सञ्चालन गर्ने राष्ट्रिय उपलब्धि परीक्षणले पनि अधिकांश विद्यार्थी अपेक्षित सिकाइ स्तरभन्दा तल रहेको देखाएको छ । यही अवस्थालाई अहिले विश्वभर सिकाइ संकट वा सिकाइ गरिबीका रूपमा चिनिन्छ । सिकाइ कमजोर हुनुका कारण अनेक हुन सक्छन् । गरिबी, भाषा, अभिभावकको शैक्षिक अवस्था, विद्यालयको वातावरण, शिक्षकको क्षमता, व्यवस्थापन तथा नीति कार्यान्वयन सबै पक्ष जिम्मेवार हुन सक्छन् । तर एउटा पक्ष भने प्रायः ओझेलमा पर्छ शिक्षामा गरिने लगानीको गुणस्तर । हामी प्रायः बजेट बढेको तथ्यलाई उपलब्धिका रूपमा प्रस्तुत गर्छौं, तर त्यो बजेट कहाँ, कसरी र कुन उद्देश्यका लागि खर्च भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा कम हुन्छ । शिक्षामा धेरै खर्च गर्नु मात्र सफलता होइन; त्यो खर्चले विद्यार्थीको सिकाइमा कति प्रभाव पार्यो भन्ने कुरा चहिं प्रमुख हुन्छ ।
त्यसै प्रतिवेदनले सिकाइ सुधारका लागि सबैभन्दा प्रभावकारी कार्यक्रमहरूको पनि पहिचान गरेको छ। ० देखि ३६ महिनासम्मका बालबालिकाका अभिभावकलाई लक्षित प्रारम्भिक बालविकास तथा उत्प्रेरणा कार्यक्रम, ३ देखि ५ वर्षका बालबालिकाका लागि गुणस्तरीय पूर्वप्राथमिक शिक्षा, विद्यालय पुग्न लाग्ने समय र दूरी घटाउने व्यवस्था, विपन्न तथा सीमान्तकृत बालबालिकाका लागि मेरिटका आधारमा छात्रवृत्ति, सिकाइ स्तरअनुसार शिक्षण, पाठ योजना तथा सिकाइ सामग्री, शिक्षकलाई निरन्तर कक्षाआधारित सहयोग, कक्षा अवलोकन र पृष्ठपोषणसहितको पेशागत विकास कार्यक्रम तुलनात्मक रूपमा कम लागतमा उच्च प्रभावकारी देखिएका छन् । यी सबै कार्यक्रमको साझा विशेषता भनेको यस्ता कार्यक्रमहरु कक्षाकोठाको शिक्षणसिकाइ सुधारसँग सम्बन्धित छन् ।
नेपालको सन्दर्भमा हेर्दा पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा बजेट रकमका हिसाबले वृद्धि भएको छ । स्थानीय तहहरूले पनि शिक्षामा आफ्नो लगानी बढाउँदै लगेका छन् । तर कुल बजेटको ठूलो हिस्सा शिक्षक तलब, प्रशासनिक खर्च तथा नियमित सञ्चालनमा खर्च हुने गरेको देखिन्छ । कक्षाकोठामा प्रत्यक्ष प्रभाव पार्ने सिकाइ केन्द्रित कार्यक्रमहरूको हिस्सा अझै न्यून छ । यसले शिक्षा क्षेत्रमा बजेट वृद्धि भए पनि त्यसको प्रभाव विद्यार्थीको सिकाइमा अपेक्षित रूपमा नदेखिएको अवस्था सिर्जना गरेको छ । आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमहरूको समीक्षा गर्दा पनि अधिकांश कार्यक्रम प्रत्यक्ष रूपमा सिकाइ सुधारसँग जोडिएका छैनन् । उच्च प्रभावकारी लगानीका रूपमा सीमित मात्रामा मात्र कार्यक्रमहरु तय भउएकाछन् । त्यसमा पनि समावेश भएका कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु हाम्रो परिवेशमा अर्को चुनौती रहेको छ ।
उदाहरणका लागि, गत आर्थिक वर्षमा विद्यार्थी उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि देशभरका शिक्षा विकास तथा समन्वय इकाइमा बजेट विनियोजन गरिएको थियो । तर अधिकांश स्थानमा कार्यक्रम सञ्चालन नै भएन । त्यसैगरी शिक्षकको पेशागत विकास सहयोगका लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइमा बजेट भए पनि कतै खर्च नै भएन, कतै अन्य शीर्षकमा खर्च गरियो र थोरै स्थानमा मात्र वास्तविक शिक्षक सहयोगमा उपयोग गरियो ।शिक्षक तालिमको अवस्था पनि फरक छैन । तालिम सञ्चालनलाई नै उपलब्धि मान्ने प्रवृत्ति अझै कायम छ । धेरै स्थानमा तालिम सम्पन्न हुन्छ, तर त्यसपछि शिक्षकले कक्षाकोठामा सिकेका सीप प्रयोग गरे वा गरेनन् भन्ने हेर्ने प्रणाली छैन । कक्षा अवलोकन, अनसाइट कोचिङ, पृष्ठपोषण तथा निरन्तर पेशागत सहयोगको अभावमा तालिमको प्रभाव व्यवहारमा रूपान्तरण हुन सक्दैन । यही कारणले नेपालमा धेरै शिक्षक तालिमहरू "इभेन्ट" बनेका छन्, "व्यवहार परिवर्तन" का माध्यम बन्न सकेका छैनन् । अब शिक्षा क्षेत्रमा परिणाममुखी सोच आवश्यक छ । बजेट कति खर्च भयो भन्नेभन्दा पनि त्यसले विद्यार्थीको सिकाइमा कति सुधार ल्यायो भन्ने आधारमा कार्यक्रमको सफलता मापन गर्नुपर्छ । शिक्षामा लगानीको मूल्याङ्कन वित्तीय प्रगति वा भौतिक उपलब्धिका आधारमा मात्र होइन, सिकाइ उपलब्धिका आधारमा गर्नुपर्ने समय आएको छ ।
यसका लागि केही नीतिगत परिवर्तन अपरिहार्य छन् । पहिलो, वार्षिक कार्यक्रम र बजेट निर्माण गर्दा उच्च प्रभावकारी लगानीका रूपमा रहेका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । दोस्रो, शिक्षक तालिमलाई एकपटकको कार्यक्रममा सीमित नराखी कक्षा अवलोकन, कोचिङ, मेन्टरिङ र पृष्ठपोषणसहितको निरन्तर पेशागत विकास प्रणालीमा रूपान्तरण गर्नुपर्छ । तेस्रो, स्थानीय तहको शिक्षा बजेटमध्ये निश्चित हिस्सा प्रत्यक्ष सिकाइ सुधार कार्यक्रमका लागि अनिवार्य रूपमा विनियोजन गर्नुपर्ने व्यवस्था आवश्यक छ । चौथो, कार्यक्रमको सफलता खर्च भएको रकमले होइन, विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको व्यवहार परिवर्तन र कक्षाकोठाको सुधारका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्छ । पाँचौँ, संघ, प्रदेश र स्थानीय सरकारबीच सिकाइ सुधारका साझा सूचक र जवाफदेहिता प्रणाली निर्माण गर्नुपर्छ ।
शिक्षामा लगानी बढाउनु आवश्यक छ, तर त्यो मात्र पर्याप्त छैन । अझ महत्त्वपूर्ण कुरा भनेको सही ठाउँमा, सही तरिकाले र कम लागतका तथा उच्च सिकाइ प्रतिफल दिने क्षेत्रमा लगानी गर्नु पर्दछ । सीमित स्रोतसाधन भएका नेपालजस्ता मुलुकका लागि यो झन् आवश्यक छ । किनकि हरेक रुपैयाँले विद्यार्थीको सिकाइमा अधिकतम प्रभाव पार्नुपर्छ । अन्ततः, विद्यार्थीको सिकाइमा दिगो र उल्लेखनीय सुधार थप बजेट खर्च गरेर होइन, उपलब्ध स्रोतलाई कक्षाकोठा केन्द्रित, उच्च प्रभावकारी लगानीका रूपमा रहेका शिक्षकको पेशागत सहयोग र विद्यार्थीको सिकाइ सुधार गर्ने कार्यक्रमहरूमा प्रभावकारी रूपमा विकास र कार्यान्वयन गर्ने तिर ध्यान दिनुपर्छ । अब शिक्षा नीतिको मूल प्रश्न "कति बजेट खर्च भयो?" होइन, "विद्यार्थीले कति सिके?" हुनुपर्छ । जबसम्म हाम्रो योजना, बजेट, कार्यान्वयन र मूल्याङ्कन प्रणाली सिकाइ परिणामसँग जोडिँदैन, तबसम्म बजेट बढे पनि सिकाइमा अपेक्षित सुधार आउने छैन । नेपालको शिक्षा सुधारको नयाँ यात्रा बढी खर्चबाट होइन, बुद्धिमत्तापूर्ण लगानीबाट सुरु हुनुपर्छ ।
No comments:
Post a Comment