राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६को आधारमा हाल विद्यालय तहमा शिक्षण सिकाइको प्रक्रिया अघि बढिरहेको छ। उक्त प्रारुपले स्थानीय तहलाई आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनको जिम्मेवारी दिएको छ। यही व्यवस्थाअनुसार केही स्थानीय तहहरूले आ-आफ्नो सन्दर्भअनुसार स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयन गर्ने प्रयास गरेका छन्। यद्यपि, पाठ्यक्रमको विकास र प्रयोगको प्रक्रियामा अझै धेरै सुधार र पुनरावलोकनको आवश्यकता रहेको स्पष्ट देखिन थालेको छ।
के छ नीतिगत अभ्यास
नेपालमा प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ बाट स्थानीय विषयवस्तुको अवधारणा औपचारिक रूपमा समावेश गरियो, जसले विद्यालयलाई मातृभाषा वा स्थानीय विषय रोज्ने विकल्पसहित साप्ताहिक ३ पाठ्यभारको व्यवस्था गर्यो। तर कार्यान्वयन प्रभावकारी हुन सकेन। अधिकांश विद्यालयले स्थानीय विषयको सट्टा अंग्रेजी, अतिरिक्त गणित वा कम्प्युटर पढाउने गरेका थिए। पछि २०६२ को पाठ्यक्रम परिमार्जनले स्थानीय विषयको महत्व बढाउँदै साप्ताहिक ४ पाठ्यभार र सामाजिक अध्ययन, सिर्जनात्मक कला, शारीरिक शिक्षामा २०/२० प्रतिशत स्थानीय अंश समावेश गरियो। कार्यान्वयनका लागि २०६० मा निर्माण निर्देशिका र २०६८ मा स्रोत सामग्री पनि तयार गरियो, जसले स्थानीय ज्ञान, सिप, परम्परा, प्रविधिको उपयोग र सामाजिक उत्तरदायित्व विकासमा जोड दिएको छ। यो समयमा पनि स्थानीय पाठ्यक्रमको सट्टा विद्यालयहरुले थप अँग्रेजी जिके जस्ता विषयहरु अधिकाशले गर्ने गरेका थिए। अपेक्षाकृत प्रभावकारी बन्न नसकेको थियो। त्यसैगरी २०६९ मा कक्षा ६-८ मा मातृभाषा, संस्कृत वा अन्य स्थानीय विषयलाई ५ पाठ्यभारसहित समावेश गरियो। कक्षा १-८ का लागि आवश्यक स्रोत सामग्री समेत विकास गरियो। यो समय पनि केही स्थानीय पाठ्यक्रमहरुको विकास र कार्यान्वयन भएको भए पनि प्रभावकारी बनाउन सकिएको थिएन। हाल राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार, कक्षा १-३ मा ५ पाठ्यभार बार्षिक १६० कार्यघण्टा र कक्षा ४-८ मा ४ पाठ्यभार बार्षिक १२८ घण्टासहित स्थानीय विषयवस्तु स्थानीय तहबाटै विकास र कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही अनुरुप स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम विकास गरिरहेका छन्।
स्थानीय पाठ्यक्रम भन्नाले स्थानीय सरोकारवालाहरूको आवश्यकता, स्थानीय विषयवस्तुहरू, र तिनीहरूको सक्रिय सहभागिताका आधारमा स्थानीय सन्दर्भ अनुरूप विकसित गरिने र कार्यान्वयन गरिने पाठ्यक्रमलाई जनाउँछ। यसले राष्ट्रिय पाठ्यक्रममा समावेश हुन नसकेका स्थानीय तहका विशेष आवश्यकताहरू र सान्दर्भिक सिकाइ उपलब्धीहरू लक्षित गरी विद्यार्थीको व्यवहारिक र सन्दर्भगत सिकाइमा टेवा पुर्याउने उद्देश्य राख्दछ।
के छ अभ्यास
एकातिर कतिपय स्थानीय तहहरुले स्थानीय पाठ्यक्रमको विकास गरी कार्यान्वयन गर्न सकेका छैन। त्यस्तो अवस्थामा विद्यालयहरुले अग्रेजी, अग्रेजी व्याकरण, कम्प्युटर, सामान्य ज्ञान जस्ता विषयहरु पढाइ रहेकाछन्। अर्कोथरी परिवेशमा स्थानीय पाठ्यक्रम विकास भएको छ तर विद्यालयमा अर्कै विषयहरुको शिक्षण भइरहेको छ । कतै स्थानीय पाठ्यक्रम विकास भएको छ तर पाठ्यपुस्तक विकास भएको छैन र पाठ्यक्रममा आधारित भएर शिक्षण गर्ने अभ्यास र सीपको अभावमा प्रभावकारी हुन सकेको छैन। केही स्थानीय तहमा भने स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास भइ कार्यान्वयन भइरहेको छ ।
स्थानीय पाठ्क्रम विकासमा गुणस्तर ल्याउनको लागि केही प्रमुख प्रयासहरु गर्नु पर्ने देखिन्छ। पहिलो स्थानीय पाठ्यक्रमको क्रममा शुरुमा नै स्थानिय सरोकारवालाको व्यापक सहभागिता सुनिश्चित गर्ने। जसमा स्थानीय समुदाय, शिक्षक, अभिभावक, स्थानीय विषय विज्ञ र बालबालिकाको सक्रिय सहभागिता कस्तो प्रकारको पाठ्यक्रम विकास गर्ने हो वडागत तथा टोलगत छलफल गर्ने । दोश्रो स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासमा प्राविधिक क्षमता अभिवृद्धिको आवश्यकता स्थानीय तहमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकास कार्य गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले संघीय वा प्रदेश सरकारमार्फत विषय विज्ञ तथा प्राविधिक जनशक्तिको सहयोगमा पाठ्यक्रम निर्माण सम्बन्धी प्राविधिक सीपमा आधारित क्षमता विकास कार्यक्रम गर्ने।
हाम्रो परिवेशमा स्थानीय पाठ्यक्रमको अत्यन्त महत्व छ, किनभने सबै राष्ट्रिय पाठ्यक्रमहरूले स्थानीय आवश्यकता र विशिष्टतालाई समेट्न सक्दैनन्। त्यसैले स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयन आजको अपरिहार्य आवश्यकता हो। तर अधिकांश स्थानीय तहमा यस सम्बन्धी अनुभव र प्राविधिक सीपको अभाव देखिएको छ, जसका कारण पाठ्यक्रम निर्माणमा थुप्रै कमजोरीहरू देखा परेका छन्। समयमै सुधार नगरे बालबालिकाको सिकाइमा गम्भीर असर पर्न सक्छ। यसकारण, संघ र प्रदेश सरकारको प्राविधिक सहयोगमा स्थानीय सरकारले आफ्नो आवश्यकता अनुसारको पाठ्यक्रम विकास गरी, तय गरिएका सिकाइ उपलब्धि र सीपसहित रोजगारयोग्य जनशक्ति उत्पादनको आधारभूत तहदेखि थालनी गर्नुको विकल्प छैन।
 
 
No comments:
Post a Comment