केहि समय अधि कक्षा १०
अर्थात् एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्ष कुल ६१.८१ प्रतिशत
विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्, जुन अघिल्लो
वर्षको ४८ प्रतिशतको तुलनामा करिब १४ प्रतिशतले बढी हो। यसले नतिजामा केही सुधार
भएको संकेत दिन्छ। तर पनि, सामुदायिक विद्यालयहरूको नतिजा
अझै अपेक्षाकृत सुधार भएको देखिन्न। शैक्षिक परीक्षण केन्द्रद्वारा प्रकाशित
‘नासा’ प्रतिवेदनहरूले समेत विद्यालय शिक्षाको समग्र गुणस्तर कमजोर रहेको देखाएका
छन्, जसमा सामुदायिक विद्यालयको अवस्था अझ चिन्ताजनक छ। हरेक
शैक्षिक फोरममा बारम्बार उठ्ने अभिव्यक्ति हो: सामुदायिक
विद्यालयको शिक्षा सुधार हुन सकेन। विद्यालय शिक्षाको गुणस्तर कमजोर छ भन्ने कुरा
दोहोरिने गरेको पाइन्छ।
तर, यस्ता प्रश्नहरू उठिरहँदा पनि "किन सुधार हुन सकेन?" भन्ने मूल कारणहरूमाथि गहिरो बहस र विश्लेषणको अभाव देखिनु गम्भीर विषय
हो। विद्यालय शिक्षा सुधार हुन नसक्नुको एक प्रमुख कारण विद्यालय शिक्षा प्रणालीमा
प्रभावकारी सुपरीवेक्षणको कमी र शिक्षकलाई आवश्यक पेशागत सहयोग नपुगेको अवस्था हो।
जबसम्म यी पक्षहरूलाई सम्बोधन गरिंदैन, सामुदायिक
विद्यालयहरूको गुणस्तरमा दीर्घकालीन सुधार अपेक्षा गर्न सकिँदैन।